स्कूल अफ बिजनेसको भूतपूर्व विद्यार्थी भेला यही मिति २०८० जेठ १५ गते पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस र एलुम्नाई एशोसियसन (PUSOBAA) को आयोजनामा पोखरा लेकसाईड स्थित होटल उत्सव हिमालयमा सम्पन्न भएको उक्त भेलाको अध्यक्षता एलुम्नाई एशोसियसनका अध्यक्ष श्री उमेश कुमार आचार्यले गर्नुभएको थियो । उक्त भेलामा एम. बि. ए. २००० ब्याच देखि २०२० सम्मका पूर्व विद्यार्थीहरु र स्नातक तहका बि.बि.ए. एवं बि. बि. ए. बि. आई कार्यक्रमका केही विद्यार्थीहरु समेत गरि जम्मा ८१ जनाको उपस्थिति रहेको थियो । “गण्डकी प्रदेशको आर्थिक अवस्था” विषयमा नेपाल बैंकर्स एशोसियसनका गण्डकी प्रदेश संयोजक श्री सूर्य रोकाले आफ्नो प्रस्तुतिकरण दिनुभएको थियो । एम. बि. ए. शैक्षिक प्रशासनमा एक दशक भन्दा बढी कार्य गरि हाल स्कूल अफ बिजनेसको प्रशासन प्रमुखको जिम्मेवारीमा रहनुभएका उप–प्रशासक प्रमोद गिरीले कार्यालयमा विद्यार्थीहरुसंग सम्बन्धित कार्य गर्दाको अनुभव साथै अध्ययन पुरा गरेर आ–आफ्नो कार्यक्षेत्रमा गईसकेका स्कूलका पुर्व विद्यार्थीहरु देशको पूर्व देखि पश्चिम भेग सम्म पुग्नुभएको र देशका बिभिन्न संघ संस्थामा आवद्घ रही देशमा योगदान गर्दै गर्नुभएकोमा खुशी लाग्ने अनुभव सुनाउनुभएको थियो । ब्यवस्थापन अध्ययन संकायका डीन सह–प्राध्यापक डा. दयाराज ढकाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा स्कूल अफ बिजनेसका निर्देशक सह–प्राध्यापक डा. श्रृजन ज्ञवाली, प्रा. डा. ज्ञानेश्वर शर्मा लगायत स्कूल अफ बिजनेसमा कार्यरत अन्य प्राध्यापक एवं प्रशासनिक कर्मचारीहरुको समेत उपस्थिति रहेको सो कार्यक्रमको संचालन एलुम्नाई एशोसियसनका सचिव सुवास मल्लले गर्नुभएकोथियो । कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट समुन्द्र पौडेल, दिपेन्द्र शर्माले, अध्ययन गर्दाको अनुभव आदान प्रदान गर्नुभएको थियो भने कार्यक्रमका अन्य वक्ताहरुमा ब्यवस्थापन अध्ययन संकायका डीन सह प्राध्यापक डा. दयाराज ढकाल, स्कूल अफ बिजनेसका निर्देशक सह प्राध्यापक डा. श्रृजन ज्ञवाली, प्रा. डा. ज्ञानेश्वर शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद ज्ञापन पोखरा भेला संयोजक एवं एलुम्नाई एशोसियसनका कोषाध्यक्ष श्री कल्पना सुवेदीले गर्नुभएको थियो ।