स्कूल अफ बिजनेसको भूतपूर्व विद्यार्थी भेला काठमाण्डौमा सम्पन्न

Published on: 2023-05-11

स्कूल अफ बिजनेसको भूतपूर्व विद्यार्थी भेला काठमाण्डौमा सम्पन्न

स्कूल अफ बिजनेसको भूतपूर्व विद्यार्थी भेला यही मिति २०८० बैशाख २२ गते काठमाण्डौमा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एल्मुनाई एशोसियसन (PUSOBAA) को आयोजनामा काठमाण्डौ, हात्तिसार स्थित नेपाल हाउस रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न भएको उक्त भेलामा एल्मुनाई एशोसियसनका अध्यक्ष उमेश कुमार आचार्य (पूर्व CEO , कामना बिकास बैंक र ग्रीन डेभलोप्मेन्ट बैक ) सचिव श्री सुवास मल्ल (उप प्राध्यापक स्कूल अफ बिजनेस) लगायत हाल बिभिन्न संघ संस्थामा बिभिन्न बिशिष्ट पदमा कार्यरत भूतपूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । एम. बि. ए. प्रथम ब्याचका पूर्व विद्यार्थीहरुले आफूले अध्ययन गर्दा विश्वविद्यालयको आफ्नो भवन नभएको सुविधा सम्पन्न कक्षा कोठाहरु नभएता पनि आफूहरुलाई तत्कालिन उपकुलपति प्रा. डा. पुरुषोत्तम बास्कोटाले राष्ट्रिय एवं अन्तराष्ट्रिय बरिष्ठ प्राध्यापकहरु आमन्त्रण गरि अध्यापन गर्न लगाई कक्षाको प्रभावकारीता सम्बन्धमा चासो दिई उर्जावान बनाउने गरेको स्मरण गर्नुभएको थियो । आफूले अध्ययन गर्दा जम्मा १० जना विद्यार्थीहरु मात्रै भर्ना भएको र आफूहरुलाई पो. वि. Sustain हुने कुरामा समेत शंका हुने गरेकोमा आज आफ्नै भवनहरुमा बिभिन्न कार्यक्रमहरु सञ्चालन भई विश्वविद्यालयको आकार स्वरुप प्रवर्धन भएकोमा खुसी लाग्ने गरेको बताउनुभएको थियो । साथै अन्य ब्याचका विद्यार्थीहरुले पनि आ–आफ्नो पालाको शिक्षण सिकाई अनुभव र आजको कार्यक्रमले धेरै समयको अन्तरालमा साथी एवं आफूलाई अध्यापन गर्ने शिक्षकहरु भेट्न पाउँदा खुसी लागेको ब्यहोरा ब्यक्त गर्नुभएको थियो । सो भेलामा स्कूल अफ बिजनेसको तर्फबाट  निर्देशक सह प्रा. डा. श्रृजन ज्ञवाली, पूर्व निर्देशक एवं एल्मुनाई सेलका संयोजक सह प्रा. डा. रबिन्द्र घिमिरे, उप प्राध्यापक श्री राम प्रसाद तिमिल्सिना र उप प्रशासक श्री प्रमोद गिरीको उपस्थिति रहेको थियो । काठमाण्डौमा सम्पन्न उक्त भेलाको संयोजन सम्बन्धि बिशेष भूमिका एल्मुनाई एशोसियसनका सदस्य नेपाल बैंक लिमिटेडका सहायक प्रबन्धक श्री कमल पौडेलले गर्नुभएको थियो ।